काठमाडौं । निष्पक्ष, उत्तरदायी, व्यवसायिक तथा खोजमूलक टेलिभिजन पत्रकारितामार्फत मुलुक र जनतालाई सुसूचित गराउन लामो समयदेखि योगदान दिँदै आएकी पत्रकार सचिता बुढाथोकी सम्मानित भएकी हुन ।

गृहणी महिला संघ नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘उत्कृष्ट महिला सम्मान’ यस वर्ष बुढाथोकीलाई प्रदान गरिएको हो। टेलिभिजन पत्रकारितामा करिब १२ वर्षदेखि सक्रिय रहेर उनले समसामयिक विषयलाई खोजमूलक र विश्लेषणात्मक ढंगले प्रस्तुत गर्दै दर्शकलाई सुसूचित गराउँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको संघले जनाएको छ।

पत्रकार बुढाथोकीले टेलिभिजन कार्यक्रममार्फत गृहणी महिलाका आवाज, समस्या र सरोकारलाई सार्वजनिक बहसमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। साथै मन्त्री, सांसद तथा नीति–निर्मातासँग महिलाका लागि बनेका नीति, नेतृत्व र अवसरका विषयमा सवाल उठाउँदै महिलाको नेतृत्व, अवसर तथा हक–अधिकारका पक्षमा निरन्तर पहल गर्दै आएकी छन्। हाल बुढाथोकी काठमाडौंको लाजिम्पाटस्थित एविसी टेलिभिजनमा वरिष्ठ समाचार वाचिका तथा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत छिन ।

तपाईको प्रतिक्रिया