विराटनगर — गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले छड्के अनुगमनका क्रममा अनियमित नापतौल प्रयोग गर्ने १ हजार २ सय ९८ व्यापारिक संस्थामाथि कारबाही गरेको जनाएको छ।
कार्यालयका प्रमुख शम्भुकुमार झाले सीमित जनशक्ति र फराकिलो कार्यक्षेत्रका बाबजुद अनुगमन तथा कारबाहीको काम निरन्तर रूपमा भइरहेको जानकारी दिए।
चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनासम्म नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोगका लागि ४ सय २७ जनाले अस्थायी प्रमाणपत्र प्राप्त गरेका छन् भने ६० जनाले इजाजतपत्र नवीकरण गराएका छन्।
उक्त अवधिमा १ हजार १ सय ४६ व्यापारिक संस्थामा नापतौल तथा सम्बन्धित उपकरणको जाँच गरिएको कार्यालयले जनाएको छ। जाँच गरिएका उपकरणमध्ये २ सय १८ वटा भेहिकल स्केल (वेब्रिज), १ सय ७० वटा पेट्रोलियम पदार्थ वितरण पम्प तथा २ सय १८ वटा पम्पका नोजल परीक्षण गरिएको थियो।
व्यापारीलाई सेवा उपलब्ध गराउन कार्यालयले विभिन्न समयमा डोर खटाएर सेवा प्रदान गर्दै आएको छ। माघसम्म यस्तो डोरमार्फत ११ पटक सेवा दिइएको छ भने १ सय २ वटा फर्ममा एकल अनुगमनसमेत गरिएको कार्यालयले जनाएको छ।
माघ महिनासम्म अस्थायी प्रमाणपत्र, इजाजतपत्र नवीकरण, कारबाही तथा जरिवाना लगायतका शुल्कबाट कुल ७३ लाख ११ हजार ७ सय ८७ रुपैयाँ राजस्व संकलन भएको छ।





