मकवानपुर, फागुन २८ गते । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा गस्तीमा गएको प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले हवाई फायर गर्दा एक जना घाइते भएका छन् भने दुई जनालाई नियन्त्रणमा लिइएको छ।
गएराति लागूऔषध सेवन तथा झैँझगडा भइरहेको सूचनापछि प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे सोधपुछ गर्ने क्रममा तामाङमाथि एक्कासी बियरको बोतल, खुकुरी र बन्चरोले प्रहार गर्दा दुवै हातमा चोट लागेको थियो। त्यसपछि आत्मरक्षाका लागि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउण्ड फायर गर्दा हेटौँडा उपमहानगरपालिका–१२ हात्तिगौडाका सनिस तितुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
बोगटीका अनुसार १९ वर्षीय तितुङको पेटको दाहिने भागमा गोली लागेको छ। घाइते तितुङ र प्रहरी सहायक निरीक्षक तामाङ दुवैको चुरेहिल अस्पताल, मकवानपुरमा उपचार भइरहेको छ।
घटनास्थलमा प्रहरी नायब उपरीक्षक बोगटीको नेतृत्वमा पुगेको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौँडा–१२ रमनटारका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना र गोली लागेर घाइते भएका तितुङ विगतमा लागूऔषध, ज्यान मार्ने उद्योग तथा चोरीलगायतका विभिन्न अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।




