काठमाडौं। मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण प्रभावित भएको दुबई उडान नेपाल वायुसेवा निगमले भोलि बुधबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।

निगमका अनुसार भोलि बुधबार आरए–२२९ नम्बरको जहाज काठमाडौं–दुबई उडानका लागि स्थानीय समयअनुसार राति ११:१५ बजे प्रस्थान गर्नेछ। त्यसपछि पर्सी बिहीबार दुबई–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ४:१० बजे हुने तालिका तय गरिएको निगमले जनाएको छ।

निगमका अनुसार दुबई उडान अब नियमित तालिकाअनुसार सञ्चालन गरिनेछ। यसअघि मध्यपूर्वमा विकसित परिस्थितिका कारण केही दिन उडान प्रभावित भएको थियो।

त्यसैगरी, २८ फेब्रुअरीदेखि ९ मार्च २०२६ सम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुहरूले यदि ११ मार्च २०२६ मा यात्रा गर्न इच्छुक भएमा इमेलमार्फत निगमसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

निगमले जारी गरेको सूचनाअनुसार टिकट पुनः प्रमाणीकरण (रि–भ्यालिडेसन) गरिएका यात्रुहरूलाई मात्र विमानस्थल आउन अनुरोध गरिएको छ। यात्रुहरूलाई अनावश्यक भीडभाड र असुविधा हुन नदिन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया