सुन्दरहरैंचा(मोरङ) : गछिया जेसिजको १२ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार सुन्दरहरैँचा–३ स्थित रणकाली मन्दिर परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा जेसिज वर्ष २०२५ का अध्यक्ष नवीन बरालले जेसिज वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष कमल ढुङ्गाना (कुन्दन) लाई औपचारिक रूपमा अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।

नवगठित कार्यसमितिमा कार्यकारी उपाध्यक्षमा आयुषदीप रिजाल र लक्ष्मण दाहाल रहेका छन् भने उपाध्यक्षहरूमा सुजन बाहकोटी, संजीव दाहाल, रिजन पोख्रेल र अनु दाहाल चयन भएका छन् । सचिवमा गंगा सिग्देल, जनसम्पर्क अधिकारीमा अनुप अधिकारी रहेका छन् । यस्तै, कानुनी सल्लाहकारमा रोहित लिम्बू, महासचिवमा निश्चल घिमिरे तथा कोषाध्यक्षमा केवल लुइँटेल मनोनीत भएका छन् ।

कार्यक्रममा राष्ट्रिय अध्यक्षसहित ६ जनालाई सम्मान गरिएको थियो। साथै सन् २०१५ देखि २०२१ सम्मका पूर्व अध्यक्षहरूले स्थापना गरेको पुरस्कार मार्फत ७ जना उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ । नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सन् २०२७ भित्र गछिया जेसिजको आफ्नै भवन स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जेसिज वर्ष २०२५ का अध्यक्ष नवीन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तामाङ विशिष्ट अतिथी तथा पूर्व वडा अध्यक्ष जीवनप्रसाद ढुङ्गाना विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा गछिया जेसिजका पूर्व अध्यक्षहरू, जेसिजका विभिन्न शाखाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष नवीन बराल र प्रमुख अतिथि डा. शेखर कोइरालाले गछिया जेसिजको आफ्नै भवन नहुँदा संस्थागत गतिविधिमा कठिनाइ आएको उल्लेख गर्दै भवन निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । हाल गछिया जेसिजमा १२९ जना सदस्य आबद्ध रहेका छन ।

तपाईको प्रतिक्रिया