विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १६ स्थित चाइना मार्केट सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको प्रतिबन्धित मुंग्री र जलकपुर माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ। साथै, अवैध ओसारपसारमा प्रयोग गरिएको करिब रु. १ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल भन्सारमा दाखिला गरिएको छ।

भारतबाट को ९ प २०२५ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका अवस्थामा अन्दाजी १५० के.जी. प्रतिबन्धित माछा बरामद गरिएको हो। प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानी मोरङका डीएसपी तिलक खड्काका अनुसार बरामद माछा स्थानीय जनप्रतिनिधि तथा पशु क्वारेन्टाइन कार्यालय विराटनगरका कर्मचारीको रोहबरमा सशस्त्र प्रहरी गुल्म रानीको परिसरभित्र प्रक्रिया पूरा गरी नष्ट गरिएको हो।

माछा वेवारिसे अवस्थामा फेला परेपछि गस्तीमा खटिएको प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिई सम्बन्धित निकायसँग समन्वय गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त माछा कसको हो भन्ने विषय खुल्न सकेको छैन।

प्रहरीले शंकास्पद रूपमा फेला परेको माछासहित मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ। साथै, खाद्य सुरक्षा तथा सार्वजनिक स्वास्थ्यमा जोखिम पुर्‍याउने वस्तुहरूको अवैध ओसारपसार रोक्न निगरानी थप कडा बनाइएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया