विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उत्तरदायी शासन प्रणाली र नागरिकमैत्री सेवा प्रवाहमार्फत मात्र सहिदहरूको बलिदानलाई सार्थक बनाउन सकिने बताएका छन् ।

सहिद दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत मेयर कोइरालाले देश र लोकतन्त्रका लागि प्राण आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको त्यागलाई व्यवहारिक शासन, सुशासन र सेवा प्रवाहमा उतार्नु आजको मुख्य चुनौती भएको उल्लेख गरेका छन् ।

उनले धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत अमर सहिदहरूले जहानियाँ राणा शासनको दमन, निरङ्कुशता र अन्यायविरुद्ध निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् । ती बलिदानकै कारण नेपालमा प्रजातान्त्रिक चेतनाको विकास भएको र लोकतान्त्रिक अभ्यासले निरन्तरता पाएको उनको भनाइ छ ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताह इतिहासको स्मरणमा सीमित नहुने उल्लेख गर्दै मेयर कोइरालाले यसले वर्तमान नेतृत्व र भावी पुस्तालाई थप जिम्मेवार बनाउने बताए। स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय र सुशासनको संरक्षण नै सहिदहरूप्रतिको वास्तविक सम्मान हुने उनको धारणा छ ।

देशभर सहिद स्तम्भ, सालिक र स्मारकमा श्रद्धासुमन अर्पण भइरहँदा सहिदहरूले देखेको समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माणमा कति अघि बढ्यौं भन्ने प्रश्नले सबैलाई आत्मसमीक्षाका लागि प्रेरित गर्ने उनले बताए । लोकतन्त्रलाई सुदृढ बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकको जीवनस्तर उकास्ने दिशामा अझ दृढ प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।

मेयर कोइरालाले विराटनगर महानगरपालिकाले समावेशी विकास, उत्तरदायी शासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सहिदहरूको सपना साकार पार्ने दिशामा निरन्तर काम गरिरहेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया