विराटनगर / विराटनगर महानगरपालिका–८ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर स्वास्थ्य जाँच तथा कम्बल वितरण कार्यक्रम सुरु गरेको छ। वडा अध्यक्ष राम पोखरेलले मंगलबारदेखि स्वास्थ्यकर्मीको टोलीसहित वडाभित्र रहेका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यको थालनी गरेका हुन्।

‘ज्येष्ठ नागरिकसँग वडा जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत वडाध्यक्ष पोखरेलले वृद्धवृद्धाको स्वास्थ्य अवस्था जाँच गर्दै उनीहरूलाई न्यानो कपडा कम्बल वितरण गरेका हुन्। निर्वाचित भएयतादेखि नै ज्येष्ठ नागरिकको हितमा निरन्तर काम गर्दै आएको बताउँदै वडाध्यक्ष पोखरेलले सोही निरन्तरताका रूपमा यस वर्ष पनि कम्बल वितरण गरिएको जानकारी दिए।

मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी नगरप्रमुख शिल्पा निरला कार्कीको पनि उपस्थिति रहेको थियो। नगरप्रमुख कार्कीले वडा नम्बर ८ मात्र नभई महानगरपालिकाले समेत ज्येष्ठ नागरिकको हकहित र संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्।

वडा कार्यालयले पछिल्लो तीन वर्षदेखि निरन्तर रूपमा यस प्रकारको कार्यक्रम गर्दै आएको जनाएको छ। पहिलो वर्ष ११७ जना ज्येष्ठ नागरिकको प्रेसर तथा सुगर जाँच गरी औषधि वितरण गर्नुका साथै स्टिलको लठ्ठी, झुल, चार्जेबल लाइट, सुगरफ्री हर्लिक्स र फलफूल प्रदान गरिएको थियो। दोस्रो वर्ष १२३ जनाको स्वास्थ्य जाँच गरी औषधि वितरणसँगै टेबल फ्यानसमेत उपलब्ध गराइएको थियो।

यस वर्ष भने ८० वर्ष उमेर नाघेका १४० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसहित कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ। वडा कार्यालयको यस पहलको स्थानीयवासीले प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया