ललितपुर / ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक सहमतिको संकेत देखिन थालेको छ। दलगत आस्थाभन्दा माथि उठेर धेरैले नेकपा (एमाले) का युवा नेता सन्दन थापा मगरलाई सम्भावनाशील प्रतिनिधिका रूपमा हेर्न थालेका छन्।

स्थानीयस्तरमा सामाजिक र सामुदायिक गतिविधिमा सक्रिय रहेका थापा मगर पार्टीका उम्मेदवार मात्र नभई विभिन्न तह, वर्ग र पुस्ताबाट स्वीकार्य व्यक्तित्वका रूपमा देखिन थालेका छन्। प्रतिनिधिसभा सदस्यका रूपमा उनको उपस्थितिलाई क्षेत्रका लागि आवश्यक ठान्ने मत बढ्दै गएको बताइन्छ।

थापा मगरको राजनीतिक पहिचान भाषणभन्दा बढी उनी संलग्न भएका कार्यबाट निर्माण भएको स्थानीयको भनाइ छ। झम्सिखेल युथ क्लबको नेतृत्व, धार्मिक तथा सांस्कृतिक संस्थाको व्यवस्थापन, सामुदायिक एकता प्रवर्द्धन र सामाजिक स्मृतिको संरक्षणमा उनले भूमिका खेलेका छन्। अरुण थापाको शालिक स्थापना जस्ता कार्यलाई पनि उनको सामाजिक संलग्नताको उदाहरणका रूपमा लिइन्छ।

उनले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय गरिमासँग जोडेर हेर्ने दृष्टिकोण राखेको बताइन्छ। शिक्षा क्षेत्रमा गुणस्तर र समान पहुँच, सरकारी विद्यालय सुदृढीकरण, सीपमूलक शिक्षाको विस्तार तथा युवालाई वैदेशिक रोजगारीमा जान बाध्य नबनाउने नीति उनको प्राथमिकतामा रहेको जनाइएको छ। स्वास्थ्य सेवा जनताको पहुँचमा, सम्मानजनक र उत्तरदायी हुनुपर्ने धारणा उनले अघि सारेका छन्।

शहरी–ग्रामीण मिश्रित क्षेत्र ललितपुर–३ मा खानेपानी, ढल, ट्राफिक, आवास र वातावरणीय सन्तुलन मुख्य चुनौतीका रूपमा रहेका छन्। यी विषयलाई स्थानीय आवश्यकताका आधारमा समाधान गर्नुपर्ने उनको धारणा छ। अव्यवस्थित शहरीकरण नियन्त्रण, सांस्कृतिक बस्ती संरक्षण, खोकना–बुङमतीजस्ता ऐतिहासिक क्षेत्रलाई पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्ने तथा स्थानीय रोजगारी सिर्जनामा उनले जोड दिएको बताइन्छ।

प्रतिनिधिसभा सदस्यले जनताको आवाज संसद्मा उठाउनुपर्ने मान्यता राख्ने थापा मगर साना व्यक्तिगत समस्यादेखि ठूला संरचनागत विषयसम्म सुनुवाइ गर्ने नेता बन्ने दाबी गर्छन्। यही कारण उनी युवापुस्तादेखि अभिभावक पुस्तासम्म स्वीकार्य बन्दै गएको स्थानीयको प्रतिक्रिया छ।

भावनात्मक उक्साहटभन्दा समाधानमुखी र विवेकपूर्ण प्रतिनिधित्व खोजिरहेको ललितपुर–३ मा सन्दन थापा मगरको उम्मेदवारीलाई समयसापेक्ष ठान्ने मत बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया