भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिक टिप्पर, स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो ।

लडेको मोटरसाइकलमा पछाडीबाट आइरहेको बागमती प्रदेश ०२-०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किँएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक एसपी सूर्यबहादुर खड्काले बताए ।

सडकमै लडेका मोटरसाइकल र स्कूटरलाई पछाडीबाट आएको बागमती प्रदेश ३-०१-००३ क ६२९१ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको एसपी खड्काले बताए । दुर्घटनामा स्कुटर चालक भक्तपुर नगरपालिका ८ का २६ वर्षीय विमल वनमाला गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएको थियो । विमलको उपचारकै क्रममा मृत्यु भएको एसपी खड्काले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका ७ इनाचोकका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन् ।

राजेशको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको उनले बताए । दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका तीन वटै सवारी साधनन प्रहरी वृत्त जगातीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया