उदयपुर / उदयपुर जिल्लाको रौतामाई नगरपालिका-७ मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कृषि, पशुपंक्षी तथा विपद् बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
माघ १२ गते आयोजित कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा तथा रौतामाई नगरपालिका–७ का अध्यक्ष मनोज कुमार राणा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमको सञ्चालन गाईघाट शाखा प्रमुख धनबहादुर कटूवालले गरेका थिए ।
कार्यक्रममा कार्यालयका कृषि तथा पशु प्रविधिक, कर्मचारी, प्रतिनिधि तथा अग्रणी कृषक गरी करिब ४० जनाको सहभागिता रहेको थियो । छलफलका क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमाको प्रक्रिया, दाबीसम्बन्धी आवश्यक जानकारी तथा जोखिम व्यवस्थापनका उपायहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले कृषकहरूलाई बीमाको महत्वबारे थप सचेत बनाउनुका साथै सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




