विराटनगर। सुनसरीको इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एकै परिवारका तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३५ वर्षीया जैतुन खातुन, उनका १९ वर्षीय छोरा मोहमद सैफुदिन र ३५ वर्षीया नन्द मन्जिना खातुन रहेका छन्।
प्रहरीका अनुसार मस्लाउदिन मियाँको घरबाट लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा सोमबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर तथा इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले छापा मारेको हो।
छापा मार्ने क्रममा मियाँकी पत्नी, छोरा र बहिनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा १० ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ९० हजार रुपैयाँ नगद बरामद गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
इटहरीबाट खैरो हेरोइनसहित एकै परिवारका ३ जना पक्राउ





