सुजाता राई , विराटनगर ।। नेकपा (एमाले) ले मोरङ क्षेत्र नं. ६ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन तथा कार्यालय उद्घाटन कार्यक्रम सोमबार सम्पन्न गरेको छ। कार्यक्रम विराटनगरमा आयोजना गरिएको हो।

कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) की केन्द्रीय सदस्य शिल्पा निरौला कार्कीले अहिलेको निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई स्वाभिमान, विश्वास र जवाफदेहिताको लडाइँ भएको बताइन्। वर्तमान राजनीतिक अवस्थाप्रति संकेत गर्दै उनले “बत्ती बाल्न खोज्दा पंखा चल्ने र पंखा चलाउँदा मोटर चल्ने जस्तो असन्तुलित अवस्था देखिएको छ” भन्दै यस्ता परिस्थितिमा संगठनलाई मजबुत बनाएर जनविश्वास जित्नु सबैको दायित्व भएको उल्लेख गरिन्।

उनले आगामी निर्वाचनलाई लक्षित गर्दै घर–घरमा संगठन विस्तार गर्न, व्यक्तिगत असन्तोष त्यागेर पार्टीको सामूहिक विजयका लागि एकताबद्ध हुन नेता–कार्यकर्तालाई आह्वान गरिन्। “दरिलो पिलरले मात्र घर टिक्छ, त्यसैगरी दरिलो संगठनले मात्र पार्टीलाई सफल बनाउँछ,” भन्दै उनले सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।

कार्यक्रममा मोरङ–६ का उम्मेदवार विनोद ढकालले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ र ‘पुरानो’ भन्ने बहस चलाइए पनि मतदाताले भावनात्मक प्रचारभन्दा तथ्य, पृष्ठभूमि, योगदान र इतिहासका आधारमा निर्णय लिनुपर्ने बताए। “वास्तविकता नबुझी निर्णय गर्दा मुलुक पुनः दुर्घटनातर्फ जान सक्छ,” भन्दै उनले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र स्थानीय मुद्दामा केन्द्रित अभियान सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा प्रदेश कमिटी सदस्य नुरहसन फेरोज खान र मदन किशोर कामत, जिल्ला उपाध्यक्ष सागर थापा, जिल्ला कमिटी पूर्व सदस्य इमाम हैदर, महानगर अध्यक्ष बलराम गिरी, जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज दिव्यराज कट्टेल, गणेश ढकाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नारायण बरालले गरेका थिए भने सञ्चालन सचिव गोपाल झाले गरेका थिए। उक्त अवसरमा नेताहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने र स्थानीय विकासका एजेन्डासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया