विराटनगर / विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाको आयोजनामा विद्यालयस्तरीय अण्डर–१६ प्रथम मेयर कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, १ नम्बर वडाका अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ३ का अध्यक्ष वासुबहादुर बस्नेत, शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष अर्जुन श्रेष्ठ, प्याब्सनकी सल्लाहकार सावित्री पराजुली, समुदायिक र संस्थागत विद्यालयका प्राचार्यहरूको उपस्थितिमा भएको उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदलाई केवल जित–हारको विषय होइन, अनुशासन, सहकार्य, नेतृत्व र इमान्दारिताको पाठशाला भएको बताए ।
मेयर कोइरालाले विद्यालयस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी पु¥याउने दीर्घकालीन सोचअनुसार मेयर कप आयोजना गरिएको स्पष्ट गरे । ‘यो प्रतियोगिता केवल खेल उत्सव मात्र होइन, भोलिका राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार हो,’ उनले भने, ‘स्वस्थ शरीर र अनुशासित नागरिक बिना समृद्ध समाज र राष्ट्र सम्भव हुँदैन ।’
महानगरले खेलकुदलाई मनोरञ्जनको साधनभन्दा माथि उठाएर स्वस्थ, सक्षम र जिम्मेवार नागरिक निर्माणको माध्यमका रूपमा अघि बढाएको मेयर कोइरालाको भनाइ छ । उनले राष्ट्रपति रनिङ शिल्डजस्तै मेयर कपलाई पनि दीर्घकालीन, नियमित र प्रतिष्ठित प्रतियोगिताको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
आदर्श माध्यमिक विद्यालयको समन्वयमा सुरु भएको प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित २५ सामुदायिक तथा संस्थागत विद्यालयका करिब ५ सय विद्यार्थी खेलाडी सहभागी छन् । कक्षा १२ सम्म अध्ययनरत १६ वर्ष उमेर पूरा नभएका विद्यार्थी मात्र प्रतियोगितामा सहभागी भएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले मेयर कप केवल खेलकुद कार्यक्रम नभई स्थानीयस्तरमै प्रतिभा पहिचान, स्वस्थ जीवनशैली प्रवद्र्धन र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अभियान भएको बताए । ‘पालिकास्तरीय प्रतियोगिताबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
उदघाटन समारोहमा आदर्श माविका विद्यार्थीहरुले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
माघ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले ७५ हजार रुपैयाँ तथा तृतीय हुने दुई टिमले जनही ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताको समन्वय जिम्मेवारी पाएको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए । सबै सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता शहीद रंगशाला र दिल्ली पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।







