काठमाण्डौं । लालीगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा लगातार दोस्रो जित निकाल्दा अर्को मोफसलको टोली नव जनजागृति क्लबले दोस्रो हार सामना गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मोफसल डर्बीमा लालीगुराँसले सोमबार नव जनजागृतिमाथि ४–१ को जित निकाल्दै जारी लिगमा दोस्रो सफलता प्राप्त गयो। लालीगुराँसका आशिष गुरुङले दुई तथा अब्दुल यसुफ हाउले र एकोइटे जुनियर डोनोउले समान एक गोल गरे। जनजागृतिका उमेश सन्जेलले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन। दोस्रो खेलमा लालीगुराँसको दोस्रो जित हो भने नव जनजागृतिले दोस्रो हार सामना गर्‍यो। पहिलो खेलमा लालीगुराँसले जावलाखेल युथ क्लबमाथि १–० को जित निकाल्दा नव जनजागृतिले चित्लाङ एफसीसँग २–१ को हार सामना गरेको थियो।

दुई खेलबाट लालीगुराँसले ६ अंक जोड्दा नव जनजागृति अंकविहीन छ। लालीगुराँसले पहिलो हाफमा एक गोल मात्र गरेको थियो। तर, दोस्रो हाफमा तीन गोल थप्यो। खेलको २६औं मिनेटमै युसुफको गोलबाट लालीगुराँसले सुरुआती अग्रता लियो। पहिलो हाफमा थप गोल हुन सकेन र लालीगुराँस १–० ले अगाडि रह्यो। दोस्रो हाफमा कुल चार गोल भए। ५५औं मिनेटमा आशिषले गोल गर्दै लालीगुराँसको अग्रता दोब्बर बनाए। पाँच मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै लालीगुराँसको अग्रता ३–० मा पुग्यो। निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा लालीगुराँसले चौथो गोल गर्‍यो। जुनियर डोनोउले गोल गरेका हुन्।

इन्जुरी समयमा नव जनजागृतिका उमेशले गोल फर्काए। तर, त्यो गोल पुनरागमनका लागि पर्याप्त भएन। सोमबार नै भएको दोस्रो खेलमा सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड कर्नर टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबमाथि ३–१ को जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी सातदोबाटोमाथि पूर्ण हाबी भयो। एनआरटीका फरवार्ड विज्ञान खड्काले दुई गोल गरे। टिमोथे ओकेरेकेको नाममा एक गोल रह्यो। सातदोबाटोका फोडे फोफानाले एक गोल फर्काए। दुई गोलले पछाडि परेको अवस्थामा सातदोबाटोले पुनरागमन गर्ने प्रयास सफल भएन। दोस्रो खेलमा एनआरटीको पहिलो जित हो।

पहिलो खेलमा एनआरटी मच्छिन्द्र क्लबसँग १–० ले पराजित भएको थियो। समान दुई खेलबाट एनआरटीले तीन अंक जोड्दा सातदोबाटोको एक अंक छ। पहिलो खेलमा सातदोबाटो संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा भने सातदोबाटो पराजित हुन पुग्यो। खेलको सातौं मिनेटमै विज्ञान खड्काले आकर्षक गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। नाइजेरियन खेलाडी टिमोथीले १७औं मिनेटमा गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए। उनले नाइजेरियाको यु–१७ उमेरसमूहमा खेलेका थिए। ३२औं मिनेटमा सातदोबाटोका फोडे फोफानाले गोल गरे। यससँगै सातदोबाटो खेलमा फर्कने प्रयास गर्‍यो।

चार मिनेटमा सातदोबाटोले खेलमा फर्कने अवसर बुन्यो। तर, जगजित श्रेष्ठको फ्रिकिक प्रहारमा फोडे फोफानाले हेडरले जाली चुम्न सकेन। यससँगै पहिलो हाफमा एनआरटी २–१ ले अगाडि रह्यो। ७४औं मिनेटमा जगजितको अर्को फ्रिकिक प्रहार एनआरटीका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे। एनआरटीले ८४औं मिनेटमा अर्को अवसर बुन्यो। तर, विवेक गुरुङको पासमा ओकेरेकेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे। इन्जुरी समयमा विज्ञानले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै एनआरटीले सातदोबाटोमाथि ३–१ जित निकाल्यो।

– नागरिक दैनिक को सहयोगमा

तपाईको प्रतिक्रिया