विराटनगर । विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्ने र विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता माघ ६ गतेदेखि सुरु भई माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।

आदर्श माध्यमिक विद्यालयको समन्वयमा आयोजना हुने प्रतियोगितामा महानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी २५ वटा विद्यालय सहभागी हुनेछन् । प्रतियोगितामा करिब ५ सय विद्यार्थी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताले उदीयमान युवा प्रतिभाको पहिचान, प्रोत्साहन र सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । नगरस्तरका यस्ता प्रतियोगिताले राष्ट्रियस्तरसम्म पुग्ने खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने उनको भनाइ थियो ।

कक्षा १२ सम्म अध्ययनरत तथा १६ वर्ष उमेर पूरा नभएका विद्यार्थी खेलाडीले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । खेलकुदलाई अनुशासित, सक्षम र जिम्मेवार नागरिक निर्माणको माध्यमका रूपमा अघि बढाइएको महानगरको दाबी छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले राष्ट्रपति रनिङ शिल्डजस्तै मेयर कपलाई पनि भव्य रूपमा सञ्चालन गरिने जानकारी दिए । स्थानीयस्तरमै प्रतिभा पहिचान, स्वस्थ जीवनशैली प्रवर्द्धन र सामाजिक समावेशितालाई बल पुर्‍याउने दीर्घकालीन अभियानका रूपमा प्रतियोगितालाई लिइएको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले ७५ हजार र तृतीय हुने दुई टिमले जनही ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए । सबै सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता शहीद रंगशाला तथा दिल्ली पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया