काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन निर्धारित समयभन्दा दुई दिन लम्बिएको छ । २७ देखि २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने भनिए पनि दुई दिन लम्बिएको हो । प्राविधिक तयारी पूरा नहुँदा महाधिवेशन दुई दिन लम्बिएको छ । मंगलबार मतदान र त्यसपछि मतपरिणाम घोषणा गर्दा बुधबार (आज) मात्रै महाधिवेशन सम्पन्न हुन्छ ।
मतदानमा ढिलाइ भए पनि महाधिवेशन स्थलमा नेतृत्व चयनको रस्साकस्सीसँगै नेता कार्यकर्ता भड्किलो प्रचारमा देखिए । महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा चलेको हो । मतदानको पूर्वसन्ध्यामा आक्रामक प्रचारप्रसारमा नेताकार्यकर्ता व्यस्त देखिएका थिए । भृकुटीमण्डपबाहिर उल्लासमय प्रचारप्रसारका दृश्य देखिए ।
नेतृत्व चयनका लागि भित्र मतदानको तयारी हुँदैगर्दा बाहिर कार्यकर्ता आफ्ना नेताको पक्षमा भड्किलो प्रचारमा देखिन्थे । विभिन्न पदका उम्मेदवारको पक्षमा नाराबाजी गर्दै उनीहरूले विजयीका लागि मतसमेत मागिरहेका थिए ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले मंगलबार राति ७ बजेबाट मतदान सुरु भएको जनाएका छन् । मंगलबार बिहान ११ बजेदेखि मतदान गर्ने भनिए पनि प्राविधिक कारणले मतदानमा सुरु गर्नमा ढिलाइ भएको हो । तयारी नपुगेकै कारण मतदानमा ढिलाइ भएको हो ।
मतदानमा ढिलाइ भएसँगै मतरिणाम आउन ढिलाइ हुनेभएको छ । विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण व्यवस्थित गर्न समय लागेकाले मतदान प्रक्रियामा ढिलाइ भएको छ । एमाले महाधिवेशनमा विद्युतीय मतदानको जिम्मा पाएको ‘रामलक्ष्मण इनोभेसन प्रालि’का अनुसार निर्वाचन आयोगबाट उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त गर्न ढिलाइ भएको थियो ।
सोमबार राति १ बजे मात्रै उम्मेदवारको अन्तिम सूची प्राप्त भएको र सो विवरणअनुसार मेसिनमा फोटो तथा तथ्यांक कोडिङ गर्नुपरेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए । यसपटकको महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरियो । महाधिवेशनमा देशभरबाट आएका भूगोल, गैरभूगोल, आयोजक, विभाग तथा मनोनीत गरी कुल २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गरे ।
प्राविधिक पक्षका अनुसार एक जना मतदातालाई पूर्ण रूपमा मतदान गर्न कम्तीमा ३५ देखि ४० मिनेटको समय लागेको अनुमान छ । मतदान नै लम्बिने भएपछि एमालेको नयाँ नेतृत्वको औपचारिक नतिजा बुधबार (आज) दिउँसोपछि मात्रै आउने नेताहरूले जनाएका छन् । यसअघि समेत १०आँं महाधिवेशनमा एमालेले नेतृत्व चयनका लागि विद्युतीय मेसिनको प्रयोग गरेको थियो ।
संशोधित विधानअनुसार १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि मतदान भएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षका प्रतिस्पर्धी रहेका छन् । ओली र पोखरेल दुवैले समूह बनाएर प्यानलसहित प्रतिस्पर्धा गरेका हुन् ।
रोकायासहित ११ निर्विरोध
एमाले ११औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै, दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जनाएका छन् ।
यस्तै, एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
असन्तुष्ट फकाउँदै ओली र पोखरेल
विभिन्न पदका आकांक्षीले उम्मेदवारी दिन नपाएपछि असन्तुष्ट भएका छन् । विगतमा ओली समूहमा रहेर काम गरेका तर महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिन नपाएपछि असन्तुष्ट छन् । ती असन्तुष्ट नेतालाई फकाउँदै ओलीले आफ्नै समूहमा रहन विभिन्न आश्वासन दिइरहेका छन् । उता, अध्यक्षका अर्का आकांक्षी पोखरेल ओली समूहबाट असन्तुष्ट नेतालाई आफ्नो समूहमा उम्मेदवार बनाएर परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका छन् ।
ओली समूहमा रहेर काम गर्दै आएका प्रदीप ज्ञवाली महासचिवका उम्मेदवार बन्न खोजेका थिए । तर, ओली समूहबाट शंकर पोखरेल महासचिवको उम्मेदवार भएपछि उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरे ।
ओली समूहबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता नगरेका ज्ञवालीलाई ओलीले आफ्नै समूहमा राख्न सफल भए । ओलीसँगको छलफलपश्चात् ज्ञवालीले ११औं महाधिवेशनमा अध्यक्षमा ओलीले अगुवाइ गरेको सिंगो टिमलाई सानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन् ।
ज्ञवाली ओली समूहमा फर्किए पनि ओली समूहका अर्का नेता कृष्णगोपाल श्रेष्ठ भने पोखरेल समूहमा लागेका छन् । श्रेष्ठले पार्टी हाँक्ने कुशल क्याप्टेन ईश्वर पोखरेल रहेको जनाएका छन् । उनले यस महाधिवेशनमा ओलीको हार र पोखरेल समूहको जित निश्चित रहेको बताए ।
पोखरेललाई एमाले निर्माणको आर्किटेक्टका रूपमा चित्रण गर्दै उनले एमालेलाई अहिलेको स्थानसम्म ल्याउनका लागि पोखरेलको भूमिका महत्वपूर्ण रहेको बताए । श्रेष्ठ पोखरेल समूहबाट सचिवको उम्मेदवार छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।





