विराटनगर — भारतमा सम्पन्न इन्डोरेन्स वर्ल्ड च्याम्पियनसिप स्केटिङमा उत्कृष्ट प्रदर्शन गरेका ६ देखि ९ वर्ष उमेर समूहका खेलाडीहरूलाई च्याम्पियन्स कराँते एकेडेमीले सम्मान गरेको छ। नोभेम्बर २२ र २३, २०२५ मा सम्पन्न प्रतियोगितामा नवप्रतिभाहरूले नौ देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए।

युवा खेलाडीहरूको लगन, समर्पण र क्षमताको कदर गर्दै आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र लामाले खेलाडीहरूलाई बधाई दिँदै खेल क्षेत्रमै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरणा दिए। कार्यक्रमको सभापतित्व एकेडेमीका सञ्चालक सुरज कामतले गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथिमा विराटनगर महानगरपालिका स्वास्थ्य शाखाका संयोजक डा. दिलीप कुमार यादव, पारस मल्टी स्पेसियालिटी हस्पिटलका सञ्चालक डा. सफीउर रेमान, मोरङ जिल्ला कराते सङ्घका प्रतिनिधि सहित उद्योगपति देवकीनन्द अग्रवाल, समाजसेवी तथा युवा नेताहरू वीरेन्द्र कुमार शाह र राकेश रोशन यादवको उपस्थिति थियो।

समारोहमा बोल्दै डा. सफीउर रेमानले खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै एकेडेमीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी रोडसेस डेन्टल एन्ड ओरल क्लिनिकका सञ्चालक डा. शेखर कुमार मण्डलले युवा खेलाडीहरूको मौखिक स्वास्थ्य प्रवर्द्धनका लागि एकेडेमीसँग साझेदारी गर्ने घोषणा गरे।

तपाईको प्रतिक्रिया