विराटनगर — सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले पछिल्ला हप्ता कडाइपूर्वक निगरानी विस्तार गरेपछि भन्सार छलीमा सक्रिय समूहदेखि केही स्थानीय व्यापारीसम्म त्रसित बनेका छन्। कठोर अनुगमनका कारण अवैध कारोबारको शैली परिवर्तन गर्न बाध्य भएको व्यापारी वृतका स्रोतले जनाएका छन्।
गुल्मबाट खटिएको टोलीले असार १६ गतेसम्म विराटनगर भन्सार कार्यालय रानी–आइसिपी क्षेत्रमा चोरी–पैठारीसम्बन्धी १७ वटा मुद्दा दर्ता गराएको छ। ती सबै प्रकरणमा बरामद भएका सवारीसाधन र सामग्री भन्सारमा दाखिला गरिएको छ। भन्सार निकट स्रोतअनुसार मुद्दामा समावेश सामानहरूको मूल्य करिब १९ लाख ८२ हजार ४९१ रुपैयाँ पुगेको छ।
दोस्रो साताको अन्त्यतिर मात्रै गुल्मले एकैदिन ६ लाखभन्दा बढी मूल्यका सामग्री बरामद गरी भन्सारमा बुझाएको थियो। बरामद सामानमध्ये ३ लाख ४० हजार बराबरका चस्मा, १ लाख ४ हजारका कपडा, ४६ हजारका किराना सामग्री, ४२ हजार मूल्यका मोटर पार्ट्स, ४० हजारका रजनीगन्धा र करिब १ लाख मूल्यको मोटरसाइकलसमेत रहेकाले कारबाहीको कडाइ स्पष्ट देखिएको छ। यी वस्तुहरू मोटेर्वाचोक, विराटनगर–१७, हनुमान मन्दिर क्षेत्र र रानी बसपार्क वरपरबाट नियन्त्रणमा लिइएका हुन्।
निरन्तर कारबाहीसँगै बजारमा “गुल्मपति खतिवडाको कडाइ कहिलेसम्म चल्ला?” भन्ने चर्चा बाक्लिँदै गएको छ। केही व्यापारीले ‘सरुवा’का गफसमेत चलाउन थालेको पाइन्छ। उनले जस्तै कडा कार्यशैली नयाँ स.प्र.ना.उ. ले पनि अपनाउने हो कि भन्ने बारे बजारमा चासो बढेको छ।





