विराटनगर । खुला सीमा क्षेत्रमार्फत भइरहेका चोरी–पैठारी र अवैध निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सक्रिय बनेको छ। कोशी प्रदेशका प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ र काकडभिट्टा क्षेत्रकालाई लक्षित गर्दै सशस्त्र प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीको नेतृत्वमा विशेष टोलि फिल्डमै परिचालन गरेको छ।

सशस्त्र प्रहरी बल, बेल बराहबाहिनी पकली, सुनसरीका बाहिनीपति डिआईजी कुमार न्यौपानेका अनुसार एसएसपी सुवेदी नेतृत्वको टोलिले दुई गुल्म मात्र नभई कोशी प्रदेशका चार जिल्लाका सीमा नाकामासमेत अनुगमन कार्य गरिरहेको छ। तर खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा भन्सार कार्यालय स्वयं नै उदासिन रहेको आरोप उनले लगाए।
डिआईजी न्यौपानेले भन्सार परिसरभित्रै चोरी–पैठारीका क्रियाकलाप भइरहनु ठूलो चिन्ताको विषय भएको उल्लेख गरे। उनका अनुसार भन्सार राजस्व गस्तीका टोलीले समेत सशस्त्र प्रहरीसँग अपेक्षित समन्वय नगर्ने गरेका छन्।

डिआईजी न्यौपानेका अनुसार एसएसपी टोलिले न केवल चोरी–पैठारी नियन्त्रणमा निगरानी गर्नेछ, बरु सीमा सुरक्षाका अन्य चुनौती तथा सशस्त्र प्रहरी बलका बोर्डर आउटपोष्टहरूको अवस्थाबारे पनि प्रत्यक्ष जानकारी संकलन गर्नेछ। यदि जिम्मेवार सशस्त्र प्रहरीकै मिलेमतो भेटिएमा तत्काल कारबाही सिफारिस गरिने उनले बताए।

चोरी–पैठारी, निकासी नियन्त्रण तथा लागुऔषध नियन्त्रणलाई थप प्रभावकारी बनाउन टोलिले सर्वसाधारणका लागि सूचनाका लागि सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ। कोशी प्रदेशमा निगरानीका लागि एसएसपी दिगविजय सुवेदीलाई ९८५१००१९४२ मा फोन गरी जानकारी दिन सकिने व्यवस्था गरिएको छ।

कोशी प्रदेशमा सशस्त्र प्रहरीका १० वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ४८ वटा बोर्डर आउटपोष्ट रहेका छन्। सशस्त्रले तस्करका सामान नियन्त्रणमा लिए पनि कारबाही गर्ने अधिकार भन्सार तथा राजस्व अनुसन्धानमै सीमित भएकाले उनीहरू हेर्दै बस्नुपर्ने बाध्यता रहेको डिआईजी न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया