काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले देश निर्माण सबै नेपालीको सामूहिक जिम्मेवारी भएको बताएकी छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनले भनिन्, “हामी सबै मिलेर मुलुक बनाउने हो। हामीले नसुधारे कसैले सुधारिदिँदैन, त्यसैले समस्या मिलेर समाधान गरौँ।”

प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेताको भूमिकामा आउँदा परिस्थितिले ल्याएको बताइन्। उनका अनुसार गत भदौ २३ गतेसम्म यस्तो स्थिति आउने अनुमानसमेत नभएको थियो। उनले हालको जेन जेड पुस्ताका मागहरू प्रारम्भमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा केन्द्रित भए पनि अहिले विभिन्न मागहरू देखा पर्न थालेको उल्लेख गरिन्।

“कतिपय जेनजीहरू यहाँ आएर ठूला कुरा गर्छन्, कतिपय भित्र सहमत हुन्छन् तर बाहिर गएर मनलाग्दी बोल्छन्। जेसुकै भए पनि ती हाम्रै सन्तान हुन्,” प्रधानमन्त्रीले भनिन्, “उनीहरू सिक्दै छन्, कतिपयको विचार त निकै परिपक्व पनि हुन्छ।”

प्रदेश सरकारसँग सहकार्य गर्दै संविधानले तोकेको सीमाभित्र रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले भनिन्, “संविधानले बनाएका संरचनाको सम्मान गर्नैपर्छ। स्थायित्वका लागि निर्वाचित सरकार अपरिहार्य छ। राजनीतिक दल र निर्वाचन एकअर्काका परिपूरक हुन्।”

प्रधानमन्त्री कार्कीले स्वतन्त्र व्यक्तिहरू पनि अहिले दल बनाएर चुनावमा आउन थालेको बताउँदै जेन जेड पुस्तालाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गरिन्। “जेनजीहरूलाई पनि भनिएको छ— पार्टी खोल, चुनाव लड र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ,” उनले भनिन्।

उनका अनुसार निर्वाचनको वातावरण तयार पार्नु अहिले सरकारको मुख्य प्राथमिकता हो। “प्रहरीका लागि तत्काल आवश्यक सवारीसाधन खरिदको प्रक्रिया अघि बढिसकेको छ। छिमेकी मुलुकहरूले पनि सहयोगका रूपमा गाडी उपलब्ध गराउँदै छन्,” उनले बताइन्।

प्रधानमन्त्रीले जनताले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ९० प्रतिशत प्रहरी संरचना पुनर्निर्माण गरेको भन्दै जन–प्रहरी सम्बन्ध अझ सुदृढ बनेको उल्लेख गरिन्। उनले थपिन्, “अघिल्ला भन्दा कठिन परिस्थितिमा पनि देशमा चुनाव भएका छन्। अहिले पनि जेन जेड पुस्ता चुनावको पक्षमा छन्, र संवादका माध्यमबाट वातावरण अझ सकारात्मक बन्दै गएको छ।”

प्रधानमन्त्रीका अनुसार निर्वाचन आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध भइसकेका छन्, बाँकीको व्यवस्थापन अन्तिम चरणमा छ। आयोगले पनि तोकिएको समयमा चुनाव सम्भव हुने विश्वास दिलाएको बताइयो।

लुटिएका र हराएका हतियार फेला पर्दै गएका, बाँकी हतियारहरूको लोकेसन पहिचान भइसकेको तथा भागेका कैदी फर्किन थालेको जानकारी दिँदै उनले प्रदेश सरकारहरूलाई पनि सुरक्षाको वातावरण बलियो बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरिन्।

अन्त्यमा, उनले स्थानीय सरकारसँग पनि सहकार्य गर्दै आगामी छलफल स्थानीय तहका प्रतिनिधिहरूसँग हुने जानकारी दिइन्।

तपाईको प्रतिक्रिया