काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अमेरिकी बलिङ अलराउण्डर हर्मीत सिंहलाई तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यससँगै हर्मीत लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने भएका छन्।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेका हर्मीतले पाँच खेलमा आठ विकेट लिएका थिए। उनले पहिलो सिजनमै सबैभन्दा कम इकोनोमी रेट कायम गर्दै ध्यान आकर्षित गरेका थिए।

अनुबन्धपछि खुशी व्यक्त गर्दै हर्मीतले भने, “म नेपाल प्रिमियर लिगमा फेरि फर्किँदै छु। गत सिजनको अधुरो लक्ष्य यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।”

सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले हर्मीतको आगमनले टिम थप सशक्त भएको बताए। “उनको अनुभव र प्रदर्शनले टिम झनै बलियो बनेको छ,” खड्काले भने।

३२ वर्षीय बाँयाहाते बलर तथा ब्याट्सम्यान हर्मीतका नाममा टी–२० अन्तर्राष्ट्रियमा २५ खेलबाट २४ विकेट र २३५ रन छन्। अमेरिकाका लागि उनले एकदिवसीयमा २१ खेल खेल्दै ३१ विकेट र ३२५ रन جوडेका छन्।

हर्मीत सन् २०१२ को यू–१९ विश्वकप जित्ने भारतीय टिमका सदस्य समेत हुन्। उनले आईपीएलमा राजस्थान रोयल्सको जर्सी पनि लगाइसकेका छन्।

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह रहेका छन् भने मुख्य प्रशिक्षक जगत टमटा छन् ।

तपाईको प्रतिक्रिया