अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार गएराति अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । कतारी सञ्चार माध्यम अलजजिराका अनुसार भूकम्प स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा झन्डै २८ किलोमिटर गहिराइमा गएको हो ।

स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरेका छन् तर अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आएको छैन । मजार–ए–शरिफका बासिन्दाहरू मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका खबरमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ ।

यसै वर्ष, अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । विशेषगरी हिन्दु कुश पर्वतशृंखलाको आसपास, युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किने भएकाले अफगानिस्तानमा बारम्बार भूकम्प जाने गर्छ । सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी भागमा ७ म्याग्निच्युडभन्दा माथिका १२ वटा भूकम्प गैसकेका छन् ।

तपाईको प्रतिक्रिया