सोलुखुम्बु — तिहार र छठ पर्वको लामो बिदा सकिएसँगै सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। सदरमुकाम सल्लेरीस्थित प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहानैदेखि सेवाग्राहीको लामो लाइन देखिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार आज मात्रै वंशानुगत नागरिकता ३१ जनालाई वितरण गरिएको छ, जसमा १२ महिला र १९ पुरुष रहेका छन्। त्यस्तै, नागरिकताको प्रतिलिपिका लागि १२ जनाले आवेदन दिएका छन् भने राहदानीका लागि १६ जनाले फारम भरेका छन्। सोही दिन २७ जनाले राहदानी प्राप्त गरेका छन्।
राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराउनेको संख्यामा पनि वृद्धि भएको छ। आज मात्र ५३ जनाले विवरण दर्ता गराएका छन्, जसमा २४ महिला र २९ पुरुष रहेका छन्।
बिदा अवधिमा स्थगित सेवाहरू पुनः सञ्चालन भएपछि प्रशासनिक कामका लागि सर्वसाधारणको उपस्थिति सामान्य दिनको भन्दा दोब्बर भएको प्रशासनले जनाएको छ। यस्तै, जिल्लाका विभिन्न बैंकहरूमा पनि सेवाग्राहीको भीड बढेको देखिएको छ। स्थानीयहरूले लामो बिदा पछि प्रशासनिक र आर्थिक काम गर्न सर्वसाधारण एकैपटक कार्यालयहरू धाउँदा सेवा लिन कठिनाइ भएको बताएका छन्।





