काठमाडौँ, कात्तिक ११ गते ।
पोकली झरना सेवा समाजको नवौँ साधारणसभाबाट कृष्ण ढुङ्गेल समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न सभाबाट ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा लक्ष्मण बराल र जनार्दन अधिकारी, महासचिवमा प्रतिरोध सुवेदी, सचिवमा खेमराज ढुङ्गेल, कोषाध्यक्षमा गीता घिमिरे ढुङ्गेल, सहसचिवमा ज्योति रुपाचा र सह–कोषाध्यक्षमा सुजन घिमिरे रहनु भएका छन्। यस्तै, सदस्यमा विष्णु सुवेदी, प्रमिला दाहाल र रीता भट्टराई चयन भएका छन्। बाँकी सदस्य कार्यसमितिले थप गर्ने निर्णय भएको छ।
समाजले पर्यटन प्रवर्द्धन, स्वास्थ्य र सामुदायिक सेवामा निरन्तर क्रियाशील रहेको जनाएको छ।
साधारणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशका पूर्व सभामुख तथा पूर्व अर्थमन्त्री बाबुराम गौतमले पोकली झरना देशकै पर्यटकीय सम्पदाको गहना भएको बताउनुभयो। उहाँले झरनामा पुग्ने मोटरबाटो पिच गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताउँदै पोकलीको विकासमा सबै राजनीतिक दलभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पोकली झरना सेवा समाजका पूर्व अध्यक्ष मिलनकुमार विष्टले समाजको विकासका लागि निरन्तर सहयोग गर्दै आएको बताउँदै व्यक्तिगत रूपमा एक लाख १० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो।
लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले गाउँपालिकाले पोकली झरनाको विकासका लागि आवश्यक सहयोग गरिरहेको बताउँदै पोकलीलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा अघि बढाउन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। यस्तै, लिखु–९ का वडाध्यक्ष केशबहरी ढुङ्गेलले पोकली क्षेत्रको विकासका लागि आफूले गरेको पहलबारे जानकारी गराउनुभयो।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष बुदीप्रसाद ढुङ्गेलले आफ्नो कार्यकालमा समाजका संरचनागत तथा संस्थागत कामहरू अघि बढाएको विवरण प्रस्तुत गर्नुभयो। महासचिव निलराज गौतमले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष ओमकार सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष कृष्ण ढुङ्गेलले पोकली बासीका लागि एम्बुलेन्स व्यवस्थापनमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो।
पोकली झरना नेपालकै दोस्रो अग्लो झरना मानिन्छ, जसको उचाइ करिब १३० मिटर रहेको छ।





