विराटनगर, मोरङ।
छठ पर्वको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राख्दै केन्द्रले यो शिविर सञ्चालन गरेको हो। कार्यक्रम केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, कार्यसमिति सदस्य, सल्लाहकारहरू तथा पदेन प्रहरी कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो। शिविरमा व्रतधारी भक्तजनहरूको रक्तचाप, रक्तमा सुगर (ग्लुकोज) परीक्षण तथा प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो। यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, मोरङले चिकित्सक तथा एम्बुलेन्स सेवा उपलब्ध गराएर सहयोग गरेको केन्द्रले जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष विविध सामाजिक सेवा कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्रले यस वर्ष पनि भक्तजनहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो जनसेवा कार्यक्रम सञ्चालन गरेको हो।
सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न





