काठमाडौँ, कात्तिक ११ गते — नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ मा अभिनेता दयाहाङ राई र विजय बरालसँगै अभिनेत्री समृद्धि अर्याल मुख्य भूमिकामा देखिने भएकी छन्। चलचित्र ‘फर्की फर्की’ बाट अभिनय यात्राको सुरुवात गरेकी समृद्धि दर्शकका लागि नयाँ अनुहार भए पनि उनको अभिनय यात्रा निकै रोचक रहेको छ। पहिलो चलचित्रमै उनले अनमोल केसीसँग स्क्रिन सेयर गरेकी थिइन् भने दोस्रो चलचित्रमै अहिलेका चर्चित कलाकार दयाहाङ र विजयसँग काम गर्ने अवसर पाएकी छन्।
हङकङमा जन्मिएकी समृद्धिको बाल्यकाल नेपाल र हङकङ दुवै देशमा बितेको हो। कलाक्षेत्रप्रति विशेष रुचि भएकी उनले अभिनय सीप मुम्बईको Whistling Woods International Institute बाट तीन वर्षको अध्ययनमार्फत हासिल गरेकी हुन्। अध्ययनपछि उनले मुम्बईकै एक मोडलिङ एजेन्सीमा काम गरिन् र Pizza, Gillette जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ समेत गरिन्। त्यसपछि उनले विज्ञापन, म्युजिक भिडियो र दर्जनौँ छोटा चलचित्रमा अभिनय गर्दै अनुभव सङ्कलन गरिन्। यही क्रममा उनले *‘फर्की फर्की’*का लागि अडिसन दिएकी थिइन्, जसबाट उनले नेपाली चलचित्रमा डेब्यू गर्ने अवसर पाइन्।
उनको दोस्रो फिल्म ‘वरिष्ठ बलराम’ मा उनले कुसुम नामको भूमिकामा अभिनय गरेकी छन्। सुरेन्द्र पौडेलको निर्देशनमा तयार यो चलचित्र वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको हो। चलचित्रमा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायतका कलाकारको पनि अभिनय छ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेल स्वयंले गरेका हुन् भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन् भने कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी. घिमिरे हुन्। लाइन प्रोडुसरमा राम विष्ट, छायांकनमा मनकृष्ण महर्जन, संगीतमा प्रशान्त शिवाकोटी, एक्सन निर्देशनमा सम्राट बस्नेत र नृत्य निर्देशनमा प्रदीप लामा रहेका छन्।





