फिदिम, कात्तिक १० गते । पाँचथरको मिक्लाजुङ–८ भदौरामा एक बाबुले आफ्नै छोरामाथि गोली प्रहार गर्दा छोराको मृत्यु भएको छ। घरायसी विवादका क्रममा ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक चलाउँदा उनका १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आइतबार अपराह्न मादक पदार्थ सेवन गरेका बखतसिंहले घर नजिकै बारीमा रहेका छोरालाई गोली प्रहार गरेका थिए। बन्दुकबाट चलेको गोली सफलको छाती, कुम, कञ्चटसहित शरीरका विभिन्न भागमा लागेको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोलीले बखतसिंहलाई नियन्त्रणमा लिएको छ र प्रयोग गरिएको भरुवा बन्दुक समेत बरामद गरिएको छ। सफलको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।





