मोरङको कानेपोखरी गाउँपालिका–५, दुम्रीघाटस्थित मामाघरबाट हिजो दिउँसो २ बजे हराएकी १४ वर्षीया आयुषा धिमाल आज बिहान विराटनगरमा भेटिएकी छन्। परिवार र प्रहरीको संयुक्त खोजतलासपछि उनलाई विराटनगरको विजुली अफिस पश्चिमतर्फ आज बिहान करिब १० बजे फेला पारिएको हो।
आयुषाका हजुरबुबा सुमन धिमालका अनुसार प्रहरीले मोबाइलको लोकेशन ट्र्याक गरी उनको बसोबासको स्थान पत्ता लगाएको थियो। फेला पर्दा आयुषासँग करिब ३० वर्ष उमेरका दुई जना महिलाहरू पनि साथमा रहेका थिए। ती दुई महिलासहित आयुषालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको सुमन धिमालले जानकारी दिए।
आयुषाको घर उर्लाबारी नगरपालिका–३, मङ्गलबारेमा पर्छ। उनी तिहारअघि कानेपोखरी–५, दुम्रीघाटस्थित मामाघर आएकी थिइन्। हिजो दिउँसो २ बजे घरबाट निस्केकी उनी बेलुका सम्म नफर्केपछि परिवारले प्रहरीमा जानकारी गराएको थियो। त्यसपछि प्रहरी र परिवारले सँगसँगै खोजतलास सञ्चालन गरेका थिए। हाल प्रहरीले उनको हराउने कारण र ती महिलाहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।





