काठमान्डौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।
‘आन्दोलनको तयारी हिसाबले बस्नुस् । कुनै पनि बेला सरकारले प्रतिशोध साँध्न सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने, ‘यो सरकार के गर्छ भन्ने टुंगो नभएको, विधि र प्रक्रिया मान्ने, संविधान तथा कानुनको पालना गर्ने र मर्यादाभित्र बस्ने सरकार होइन ।’
आफ्नो गिरफ्तारी र सम्भावित गिरफ्तारीको विषयमा लामो चर्चा गरेका ओलीले आवश्यक परे एमालेका लाखौँ कार्यकर्ता सडकमा उत्रिने चेतावनीसमेत दिए ।
‘एमाले चुप लागेर बस्नेछैन । त्यसबेला (आफू गिरफ्तार हुँदा) केही हजारका दरले सडकमा निस्किएका होलान् । अब लाखौँको संख्यामा सडकमा उत्रिन्छन्,’ ओलीले चेतावनी दिए ।
यसैबीच, नयाँ प्रहरी महानिरीक्षकले आफू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको ओलीले दाबी गरेका छन् ।





