झापा : तिहारमा स्वदेशी फूलमाला प्रयोग गर्न प्रशासनले आग्रह गरिरहेका बेला झापाका सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध भारतीय फूलमाला भित्र्याउने प्रयास भएको छ । सशस्त्र प्रहरीले दुई दिनमा रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका फूलमाला बरामद गरेको छ ।

काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले फूलमाला नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यका अनुसार मंगलबार रु १४ लाख १५ हजार ३०० र सोमबार रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरका फूलमाला बरामद गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष तिहारमा स्वदेशी फूलमाला प्रयोग गर्न आग्रह गर्दै भारतबाट फूलमाला आयातमा रोक लगाएको थियो । अवैध आयात नियन्त्रण गर्न प्रशासनले सुरक्षा निकायलाई निर्देशनसमेत दिएको थियो ।

बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

जुवा खेल्ने २२ जना पक्राउ

यसैबीच, झापामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट २२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्यचौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा मंगलबार बिहान १० जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र रु ८९ हजार ७१० नगद बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा घरधनी भट्टराईसहित १२ जनालाई पक्राउ गरिएको बुढाथोकीले बताए ।

उनीहरूको साथबाट पाँच बुङ तास र नौ थान मोबाइल बरामद भएको छ । पक्राउ परेका २२ जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया