• १० रोपनीमा ८०० कफीका बोट
• यस वर्ष ३०० केजी उत्पादनको लक्ष्य
• कृषि उद्यमबाट गाउँ चिनाउने प्रयास
महेश भट्टराई
भोजपुर / आमचोक – ७ हर्दिला, कात्तिक २४ गते मंगलबार ।
विदेश जाने होडबाजी बढिरहेको छ। गाउँका धेरै युवा रोजगारी र राम्रो भविष्यको खोजीमा तराई, काठमाडौं हुँदै कोरिया, जापान, अस्ट्रेलिया र अमेरिकासम्म पुगिरहेका छन्। गाउँका घरहरू रित्तिँदै छन्, खेतबारी बाँझिँदै छन्। तर यही परिस्थितिमा एक शिक्षित युवा भने आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन्। उनी हुन्, भोजपुरको आमचोक गाउँपालिका–७, बाखुरामका लक्ष्मण किराँती हायु।
‘हायु कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्दै आएका लक्ष्मणले विदेशिने बाटो रोजेनन्। बरु आफ्नै गाउँमा केही गर्ने, गाउँलाई चिनाउने र कृषि व्यवसायमार्फत आत्मनिर्भर बन्ने सपना बोकेर कफी खेतीमा हात हाले। उनको यो प्रयास अहिले गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्दै गएको छ।
स्नातक तहसम्मको शिक्षा हासिल गरेका लक्ष्मण समाजसेवी व्यक्तित्वसमेत हुन्। केही वर्षअघि अल्पसङ्ख्यक हायु समुदायको प्रतिनिधित्व गर्दै आमचोक गाउँपालिकाको सदस्य बनेर उनले स्थानीय सरकारमा समेत सेवा गरिसकेका छन्। जनप्रतिनिधिको जिम्मेवारी पूरा गरिसकेपछि उनी अहिले कृषि कर्ममार्फत गाउँको विकास र आफ्नो भविष्य निर्माणमा जुटेका छन्।
२०८० सालदेखि कफी खेतीको सुरुवात
आमचोक गाउँपालिकाले कफी खेतीका लागि उपयुक्त क्षेत्र पहिचान गरी पकेट क्षेत्र तथा वडा घोषणा गर्दै अभियान सञ्चालन गरेपछि लक्ष्मणले वि.सं. २०८० सालबाट व्यवसायिक रूपमा कफी खेती सुरु गरेका हुन्।
अहिले उनले आफ्नो १० रोपनी जग्गामा करिब ८०० वटा कफीका बिरुवा लगाएका छन्। तीमध्ये ३०० वटा बोटले उत्पादन दिन थालेका छन् भने बाँकी बिरुवा यसै वर्ष रोपिएका हुन्।
गत वर्षदेखि कफी उत्पादन हुन थालेको बताउने लक्ष्मणका अनुसार पहिलो वर्ष करिब ८ केजी कफी उत्पादन भएको थियो। यस वर्ष भने उत्पादन बढेर करिब ३०० केजी पुग्ने अनुमान छ।
उनी भन्छन्, “कफीका बोटहरू हुर्किँदै छन्। उत्पादन पनि हरेक वर्ष बढ्ने क्रममा छ। एउटा विकसित बोटबाट अनुकूल अवस्था र राम्रो स्याहारसुसार हुँदा ४५ केजीसम्म फल उत्पादन भएको उदाहरण पनि हाम्रो गाउँमै छ। त्यसैले मलजल र आवश्यक व्यवस्थापन गर्न सकियो भने आम्दानी पनि बढ्दै जान्छ।”
बजारको समस्या छैन, मागअनुसार उत्पादन पुर्याउनै कठिन
लक्ष्मणले उत्पादन भएको कफीको बोक्रा हटाउन आफ्नै फर्ममा मेसिनसमेत राखेका छन्। कफीको चेरीबाट बोक्रा हटाएपछि सुकाएर बजारमा पठाउने गरिएको उनी बताउँछन्। कफीको मूल्य काँचो चेरी रु १०० देखि १५० सम्म र बोक्रा खुइल्याएको सुकेको चेरी ७०० सम्म पर्ने गरेको उनी बताउँछन् । गत वर्ष उत्पादन भएको कफी इटहरी, धरान र धनकुटा लगायतका क्षेत्रमा बिक्री गर्ने गरिएको उनले बताए ।
“कफीको बजार राम्रो छ। उत्पादन गरेर बजारमा पुर्याउन सकियो भने बिक्रीको समस्या छैन। अहिले त मागअनुसार उत्पादन पुर्याउनै सकिएको छैन,” उनी भन्छन्।
कफी खेतीप्रति आफू सन्तुष्ट रहेको बताउने लक्ष्मणका अनुसार एकपटक राम्रोसँग बिरुवा रोपेपछि उचित स्याहारसुसार र मलजल गर्न सके लामो समयसम्म उत्पादन लिन सकिन्छ। कफीको आयु करिब ५० वर्षसम्म हुने भएकाले दीर्घकालीन आम्दानीको सम्भावना पनि राम्रो रहेको उनको भनाइ छ।
अर्गानिक खेतीमा जोड, छहारी अनिवार्य
कफी खेती गर्दा सबैभन्दा महत्वपूर्ण पक्ष छहारी भएको लक्ष्मण बताउँछन्। ओसिलो र शीतल वातावरण भएको ठाउँमा कफी राम्रोसँग फस्टाउने भए पनि छहारी नभएको स्थानमा बिरुवा पहेँलिने र मर्ने समस्या देखिन सक्ने उनको अनुभव छ।
कफी खेतीमा रासायनिक मल तथा विषादी प्रयोग नगरी प्राङ्गारिक विधि अपनाउनुपर्ने उनी बताउँछन्। गोबर मल, पातपतिङ्गर कुहाएर तयार पारिएको मल प्रयोग गर्ने गरिएको छ। त्यस्तै गाईको पिसाब, टिमुर र तितेपाती मिसाएर घरेलु जैविक विषादी बनाउने गरेको उनको भनाइ छ।
कफी खेतीमा वनबिरालोले दुःख दिने गरेको उनी बताउँछन्। वनबिरालोले बिरुवाको डाँठ खोपेर भित्र पस्दा बोट नै ढल्ने समस्या आउने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
स्थानीय सरकारको सहयोगले थप उत्साह
आमचोक गाउँपालिकाले कफी खेती प्रवर्द्धनका लागि बिरुवा वितरण तथा कृषि फर्म दर्ता भएका कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ। लक्ष्मणको “हायु कृषि तथा पशुपन्छी फर्म´´ पनि गाउँपालिकाको अनुदान कार्यक्रममा छनोट भएको थियो।
गत वर्ष उनको फर्मले दुई लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो। स्थानीय सरकारको सहयोगले कृषि व्यवसाय विस्तार गर्न थप हौसला मिलेको उनी बताउँछन्।
कफीसँगै बहुविध कृषि तथा पशुपालन
लक्ष्मणले कफी खेतीलाई मात्र आफ्नो व्यवसाय बनाएका छैनन्। उनको कृषि फर्ममा अम्बा, सुन्तला, एभोकाडो, केरा, अदुवा, टमाटर, धान र कोदोलगायतका बालीसमेत उत्पादन हुँदै आएका छन्। साथै बाख्रापालन पनि गर्दै आएका छन्।
उनका अनुसार कफी खेतीसँगै केरा, सुन्तला र एभोकाडो जस्ता बहुवर्षीय बिरुवा रोप्दा छहारीको व्यवस्था हुनुका साथै एउटै जमिनबाट विभिन्न प्रकारका उत्पादन लिन सकिन्छ।
“कोदो र मकैभन्दा कफी खेतीबाट करिब ६ गुणासम्म बढी आम्दानी लिन सकिने सम्भावना छ। कफीसँगै अन्य फलफूल खेती पनि गर्न सकिन्छ। यसले कृषकको आम्दानीको स्रोत बढाउँछ,” उनी भन्छन्।
सरकारसँग थप सहयोगको अपेक्षा
उनले खेतबारीको खनजाेत र गोडमेल गर्न सहज हुने गरी सरकारले हाते ट्याक्टर लगायतका साधनहरू उपलब्ध गराउनुपर्ने माग गरेका छन्। त्यस्तै वर्षायामको पानी सङ्कलन गरी हिउँदमा सिँचाइ गर्न प्लास्टिक पोखरी निर्माणका लागि ठूला त्रिपाल उपलब्ध गराउन सके खेतीमा थप सहज हुने उनको अपेक्षा छ।
कफी खेती सुरु गर्नुअघि माटो परीक्षण गर्नुपर्ने, प्राविधिक सल्लाह लिनुपर्ने र कफी रोप्नुभन्दा कम्तीमा एक वर्षअघि नै छहारीका लागि केरा, डालेघाँस तथा अन्य बहुवर्षीय बिरुवा रोप्नुपर्ने उनको सुझाव छ। सामान्यतया रोपेको दुईदेखि तीन वर्षपछि उत्पादन सुरु हुने भएकाले धैर्य र निरन्तर स्याहार आवश्यक रहेको उनी बताउँछन्।
विदेशिनुभन्दा आफ्नै माटोमा पसिना बगाउनुको आनन्द
“कफी खेती गर्न अलि ढिलो गरिएछ जस्तो लाग्छ। यदि यो खेती सुरु नगरेको भए सायद म पनि विदेशिन बाध्य हुन्थेँ होला। तर अहिले गाउँपालिकाबाट अनुदान पाएको छु, कफीका बोट लटरम्म फल्न थालेका छन्। आफ्नै गाउँमा बसेर काम गर्दा छुट्टै आनन्द आउँछ,” उनी भन्छन्।
उनले खाडी मुलुकलगायत विभिन्न देशमा पसिना बगाइरहेका नेपाली युवालाई स्वदेश फर्किएर आफ्नै गाउँठाउँ र देश निर्माणमा योगदान गर्नसमेत आग्रह गरेका छन्।
लक्ष्मण हायुको प्रयास एउटा व्यक्तिको कृषि व्यवसाय मात्र होइन, गाउँमै सम्भावना खोज्ने युवाहरूका लागि प्रेरणाको स्रोत पनि हो। गाउँ रित्तिँदै गएको अवस्थामा आफ्नै माटोमा भविष्य खोजिरहेका उनीजस्ता युवाको प्रयासलाई स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायले प्रोत्साहन गर्न सके ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
विदेशमा पसिना बगाएर भविष्य खोज्ने कि आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउने? लक्ष्मण हायुको कृषि यात्रा यस प्रश्नको एउटा सकारात्मक जवाफ बनेको छ।





