झापा। पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो।

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८३÷८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ।

गत आर्थिक वर्ष २०८२÷८३ को असोजमा भने २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको ९ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो। यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ।

काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ। मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ।

तपाईको प्रतिक्रिया