रुपन्देही- नवलपरासीको त्रिवेणीमा आयोजना हुने गजेन्द्र मोक्षनारायण भैरव विराट महायज्ञको प्रचारप्रसारका लागि मुक्तिनाथबाट सुरु गरिएको मेची–महाकाली रथयात्रा देवदह आइपुगेको छ ।
रथयात्रा टोलीलाई देवदहस्थित लोकेश्वर मन्दिरमा स्वागत गरिएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्य राखिएको छ । सोही उद्देश्यसहित वैदिक ज्ञान, दर्शन र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको सन्देश फैलाउँदै रथयात्रा अघि बढेको हो ।
देवदह आइपुगेको रथयात्रा टोलीलाई नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्वनगरप्रमुख हिराबहादुर खत्री, नगर प्रवक्ता गणेश डुम्रेलगायतले स्वागत गरेका थिए । स्वागतपछि रथयात्रा टोली देवदह हुँदै पश्चिमतर्फ प्रस्थान गरेको छ ।
मुक्तिनाथबाट सुरु भएको रथयात्रामा हिन्दू धर्मगुरु वासुदेव प्रपन्नाचार्य, विश्वप्रकाश प्रपन्नाचार्य र सनातन प्रपन्नाचार्य सहभागी हुनुहुन्छ । मेची–महाकाली यात्रा पूरा गरी रथयात्रा त्रिवेणी पुगेर समापन हुने जनाइएको छ ।
महायज्ञमार्फत वैदिक ज्ञान र संस्कृतिको संरक्षण, धार्मिक तथा शैक्षिक चेतनाको विस्तार र वैदिक विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।





