काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा पुगेका छन्।

दोहा एक्जिमिसन एन्ड कन्भेन्सन सेन्टर (डीईसीसी) मा नोभेम्बर ९ देखि २७ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको प्लेनिपोसेन्सियरी सम्मेलन (आईटीयू पीपी–२६) मा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई तथा दूतावासका अन्य अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधि मन्त्री र कतारको सञ्चार नियामक निकाय (सीआरए) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच बैठकमा सहभागिता जनाए।

उक्त बैठकमा सम्मेलनमा उठाइने प्रमुख विषयहरू र ‘दोहा घोषणापत्र’ मा योगदान पुर्‍याउने विषयमा मन्त्रीहरूबीच विचार आदानप्रदान भएको थियो। त्यसका साथै उनले प्रतिनिधिमण्डलका प्रमुखहरूको अनौपचारिक बैठकमा पनि सहभागिता जनाए।

सोही दिन साँझ मन्त्री तिमिल्सिनाले दोहास्थित नेपाली दूतावासको अवलोकन तथा निरीक्षण गरे। सो अवसरमा कार्यवाहक राजदूत राईले दूतावासका गतिविधिहरू तथा नेपाल–कतार र नेपाल–इरान द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराएका थिए।

मन्त्रीले कतारमा रहेका नेपाली नागरिकहरूलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न तथा सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न दूतावासका कर्मचारीहरूलाई निर्देशन दिए। साथै, उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारसहित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रियासमेत गरे।

नेपाली प्रतिनिधिमण्डलमा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, कार्यवाहक राजदूत कुमार राई, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा नेपाल सरकारका अन्य अधिकारीहरू रहेका छन्।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) को सर्वोच्च नीति निर्माण तह मानिने यो सम्मेलन हरेक चार वर्षमा आयोजना हुने गर्दछ।

तपाईको प्रतिक्रिया