भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ। ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो। साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ। अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन्। गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन्।

अनुदानमा विभिन्न सरकारी निकायबाट साना मिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ। मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो। अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन्।’

विद्युत गाउँगाउँमा पुगेसँगै घरघरमा साना मिल जडान हुन थालेका उनले बताए। घर परिवारमा ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जानेको संख्या पनि कमी हुँदै गएकाले पनि घरघरमै साना मिल राख्न थालिएको साना मिल सप्लायर्स बाजिम मगरले बताए।

उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ। ४०–४५ हजारमै साना मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ आर्कषण बढेको हो।’ सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवीन प्रधानले बताए। साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो।

‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी देखिएको छ। ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले लामो समय सञ्चालन गरेको मिल बन्द गरेको अत्तर राइस मिलका सञ्चालक जीवन श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया