राजविराज– सप्तरीको कञ्चनरूप नगरपालिका–८ मा झैझगडा र कुटपिट हुँदा तीन जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कात्तिक ४ गते राति करिब सवा ९ बजे कञ्चनरूप नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिक झैझगडा र कुटपिट भएको थियो। घटनामा स्थानीय १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सूचना पुगेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कञ्चनरूप नगरपालिका–८ कै १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डललाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी तत्काल जरुरी पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि दुवै जनालाई सप्तरी जिल्ला अदालतमा पेस गर्दा पक्राउ पुर्जीको समर्थन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनामा झैझगडा सुरु हुनुको कारण र कुटपिटमा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया