सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सोलुखुम्बु शाखाले बडादशैँको अवधिमा ३५ लाख ५४ हजार ४६८ रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको छ ।

शाखा प्रमुख निमीश कुमार यादवका अनुसार चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले चामल, दाल र चिनी बिक्री गरिएको हो ।

साउन २८ गतेदेखि असोज २८ गतेसम्म ३९६.२५ क्विन्टल चामल बिक्रीबाट ३१ लाख ९६ हजार ८७५ रुपैयाँ राजस्व संकलन भएको छ । बिक्री गरिएको चामलमध्ये जिरा, एफआर जिरा, सोना र एफआर सोना चामल रहेका छन् ।

त्यसैगरी, असोज २५, २६ र २८ गते बिक्री गरिएको २ हजार ९८८ केजी चिनीबाट ३ लाख २८ हजार ६८० रुपैयाँ र १९९.४ केजी दालबाट २८ हजार ९१३ रुपैयाँ संकलन भएको शाखा प्रमुख यादवले जानकारी दिनुभयो ।

चामल, दाल र चिनीको बिक्रीबाट दशैँको अवधिमा उक्त रकम बराबरको कारोबार भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया