रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।
दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए ।
तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





