काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ ।
विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले टोली थप बलियो हुने विराटनगर किंग्सले विश्वास व्यक्त गरेको छ ।
रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्य थिए । उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्ससहित विश्वका विभिन्न फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
विराटनगर किंग्सले रसेलको अनुभव र खेल क्षमताले टोलीलाई उपाधिको बलियो दाबेदार बनाउने विश्वास व्यक्त गरेको छ ।
रसेलले पनि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै नेपाली समर्थकहरूमाझ उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई उपाधि जिताउन योगदान गर्ने लक्ष्य रहेको बताएका छन् ।
Single Image




