- भोजराज घिमिरे

विराटनगर । विराटनगर–३ गोग्राह चोकमा करिब एक करोड रुपैयाँको लगानीमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ। बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका हुन्।
स्टुडियोमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि आवश्यक विभिन्न उत्पादन उपलब्ध छन्। बेड तथा म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको यो स्टुडियो नेपालकै पहिलो भएको सञ्चालकको दाबी छ।
फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानको महत्त्वलाई ध्यानमा राखेर स्टुडियो सञ्चालनमा ल्याइएको बताए। उनले कम्पनीका उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था रहेको उल्लेख गर्दै गुणस्तरीय स्वदेशी उत्पादनलाई ग्राहकसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले व्यवसाय विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ स्टुडियो स्थापना गरेको हो।
स्टुडियोका सञ्चालक दिवश बजगाईंका अनुसार यसको स्थापनामा करिब एक करोड रुपैयाँ लगानी गरिएको छ। ग्राहकको माग र व्यवसाय विस्तारसँगै आगामी दिनमा लगानी थप बढाउँदै लैजाने योजना रहेको उनले बताए।
स्टुडियो उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए। स्वदेशी वस्तुको प्रयोगले स्थानीय उद्योगको विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने उनको भनाइ थियो।
‘स्वदेशी उत्पादनलाई प्रयोग गरौँ र आफ्नै उद्योगलाई प्रोत्साहन गरौँ,’ राउतले भने। विराटनगरमा नयाँ स्टुडियो सञ्चालनमा आउनु स्थानीय बजारका लागि सकारात्मक भएको उल्लेख गर्दै उनले यसले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने बताए।
उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति थियो।
स्टुडियोले विराटनगरसहित आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र गुणस्तरका बेड तथा म्याट्रेस उपलब्ध गराउने जनाएको छ।

तपाईको प्रतिक्रिया