पोखरा। तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका २२ पुम्दी-भुम्दीमा शनिबार आयोजित आठ किलोमिटर दूरीको दौड निर्धारित समय ३४ मिनेट ३५.८८ सेकेन्डमा पूरा गर्दै रावतले उपाधिसहित नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन्। रावतले गत वर्ष पनि प्रतियोगिताको उपाधि जितेका थिए।

प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए। श्रेष्ठले निर्धारित दूरी ३५ मिनेट १६.१९ सेकेन्डमा पूरा गर्दा क्षेत्रीले ३५ मिनेट २९.०१ सेकेन्ड लगाए। उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा धीरजबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौँ भए। उनीहरूले क्रमशः सात हजार र तीन हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए। छैटौँदेखि दशौँ स्थानसम्म हासिल गर्ने महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशिष कुँवरले जनही एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।

महिलातर्फ दीपा बस्नेत प्रथम भइन्। उनले आठ किलोमिटर दूरी ४८ मिनेट १३.४६ सेकेन्डमा पूरा गर्दै नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। दोरपाटा कठायतले ५० मिनेट २०.४३ सेकेन्ड र मीनु बुढाले ५१ मिनेट १३.२१ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे। सोही विधामा सिमरन थापा र सञ्जिला राई चौथो तथा पाँचौँ हुन सफल भए।

यू-१६ तर्फ कमल विक प्रथम, मुलुकसिंह खत्री दोस्रो र सक्षम बोहोरा तेस्रो भए। विकले निर्धारित दूरी ४० मिनेट ००.४२ सेकेन्डमा पूरा गर्दा खत्रीले ४० मिनेट ०८.८६ सेकेन्ड लगाए। सुशान्त विक्रम तिवारी चौथो र सफल खड्का पाँचौँ भए। पोखरा-२२ अन्तर्गतका क्रिशल परियारले ४३ मिनेट ४५.०२ सेकेन्डमा दूरी पूरा गर्दै उक्त विधामा प्रथम स्थान हासिल गरे। सुयोग विक दोस्रो भए भने कमल पौडेल, पुष्पराज बराल र सुजल परियार क्रमशः तेस्रोदेखि पाँचौँ स्थान हासिल गरे।

त्यसैगरी भेट्रानतर्फ तेजबहादुर गुरुङ प्रथम भए। उनले निर्धारित दूरी ४६ मिनेट ३०.५१ सेकेन्डमा पूरा गरे। किशोर थापा दोस्रो, कमल गुरुङ तेस्रो, अनुप केसी चौथो र योगप्रसाद गुरुङ पाँचौँ भए।

विदेशी धावकतर्फ फ्रान्सका म्याथियस डियोन प्रथम र रुसका अलेक्जेन्डर दोस्रो भए। डियोनले दूरी ४६ मिनेट २४ सेकेन्डमा पूरा गर्दा अलेक्जेन्डरले ५४ मिनेट १३.१८ सेकेन्ड लगाए। माइखाइलो तेस्रो भए। खुलातर्फबाहेक अन्य विधाका प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र सात हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामार्फत पुम्दी-भुम्दी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा खेल पर्यटन विकासलाई जोड दिइएको संयोजक दिनानाथ बरालले जानकारी दिए।

कार्यक्रममा पुम्दी-भुम्दीको पर्यटन प्रवर्द्धन र स्थानीय क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो। गुरुङ कालाबाङ घडेरी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेढी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्षसमेत हुन्।

समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्यले यस्ता प्रतियोगिताले पोखराको खेलकुद तथा पर्यटन विकासमा सहयोग पुग्ने बताए। महानगरले पनि यस्ता कार्यक्रमलाई सहयोग गर्दै जाने उनको भनाइ थियो। उनले प्रतियोगितालाई निरन्तरता दिन आयोजकलाई कम्तीमा पाँच वर्षसम्मको क्यालेन्डर बनाएर अघि बढ्न सुझाव दिए।

यसअघि गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले विश्वशान्ति स्तूपमा आयोजित उद्घाटन समारोहमा दौडको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले गाउँ पर्यटन र खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन। कार्यक्रममा कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरसहित विभिन्न क्षेत्रका अतिथिको सहभागिता थियो।

‘खेल पर्यटन प्रवर्द्धनमा पुम्दी-भुम्दी पर्वतीय दौड’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरले प्रवर्द्धन गरेका थिए। प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगर २२ को सहकार्य रहेको थियो।

तपाईको प्रतिक्रिया