काठमाडौं। प्रहरीले व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किंदै गरेका त्रिपुरा सुन्दरी खाद्य स्टोरका सञ्चालक तीर्थबहादुर कार्कीलाई मोटरसाइकलमा आएका व्यक्तिले उनलाई कुटपिट गर्दै सुनको सिक्रीसमेत लुटेर फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा बुधबार चाँगुनारायण नगरपालिका–२, दुवाकोटबाट पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ का २५ वर्षीय सुदीप लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनामसिंह तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा असोज २२ गते जिल्ला अदालत भक्तपुरमा पेस गरिएको थियो।
अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।




