रौतहट। सशस्त्र प्रहरी बलले बौधीमाई नगरपालिका–७ स्थित बंकुल भन्सारसँगैको धानखेत क्षेत्रबाट मदिरामा प्रयोग हुने एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर शुक्रबार बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक अचुत सुवेदीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्तःशुल्क स्टिकर सीमा नजिक धान खेतबाट बरामद गरेको हो।

टोली प्रमुख सुवेदीले शुक्रबार अपराह्न सामानसहितको कार्टुन टाउकोमा राखी नेपालतर्फ आउँदै गरेका दुई व्यक्ति गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ कार्टुन फाली भारततर्फ भागेको बताए। सीमा क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न ती व्यक्तिले फालेको कार्टुनभित्र उक्त परिमाणको स्टिकर भेटिएको उनले जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार ६ वटा रोलसहितको बरामद स्टिकर नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी गरिने जस्तै ५० युपी १८० एमएल क्षमताको मदिराजन्य बोतलमा टाँस गर्न प्रयोग हुने किसिमको छ।

बरामद स्टिकरबारेमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रिया अघि बढेको सशस्त्र प्रहरीले जनाएको छ।

गौर भन्सार कार्यालयका अनुसार ५० यूपी १८० एमएल मदिरामा प्रतिस्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था रहेको छ।

बरामद सबै स्टिकर अवैध रूपमा मदिराका बोतलमा प्रयोग भएको भए मुलुकको राजस्व एक करोड पाँच लाख ८४ हजार बराबरको नोक्सानी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

रौतहट जिल्लाका सशस्त्र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक चेतराज जोशीले स्टिकर बरामदसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको र सामान छोडी भाग्ने दुई जनाको खोजीका लागि भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताए।

तपाईको प्रतिक्रिया