काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल करिब ४२ करोड भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीश वासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले विकललाई शुक्रबार दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैदको फैसला गरेको हो।

४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला भएको छ। सोही रकम बराबरको सम्पत्ति गैरकानुनी ठहर गर्दै विशेष अदालतले उक्त सम्पत्ति जफत गर्ने पनि फैसला गरेको छ।

पौडेलको वैधानिक आम्दानी ४ करोड १६ लाख भए पनि खर्च ४६ करोड ११ लाख पाइएको अदालतको ठहर छ। आम्दानीभन्दा बढी खर्च तथा लगानी देखिएको ४१ करोड ९४ लाख रुपैयाँ भ्रष्टाचारबाट आर्जन गरेको अदालतको ठहर छ।

पौडेलले विदेशमा परामर्श सेवा प्रदान गरी आर्जन गरेको भनिएको २ करोड ७७ लाख ७५ हजार ३८४ रुपैयाँ पनि अदालतले गैरकानुनी ठहर गरेको छ।

सोही अवधिमा उनी नेपालमा सरकारी सेवामा रहेको र अनुमतिबिन काम गरी कमाएको देखिएकाले वैध मान्न नमिल्ने विशेष अदालतको जिकिर छ।

तपाईको प्रतिक्रिया