इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ।

त्यसपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको आयोजकले जनाएको छ।

आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म तालिम सहभागी छनोट, प्रशिक्षार्थी समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसम्बन्धी सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ।

भोलिदेखि असोज १९ गतेसम्म विभिन्न १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन्।

मेलाभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया