रौतहट । रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहान धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्र्याक्टरले आफ्नै घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा ६ वर्षीय रितिक यादवलाई ठक्कर दिएको थियो ।

ट्र्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकको गरुडा, रौतहटस्थित बेटर नेपाल अस्पतालमा उपचारका क्रममा बिहान १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालमार्फत प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कृष्णमोहनप्रसाद गुप्ताको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार घटनापछि चालक ट्र्याक्टर घटनास्थलमै छाडेर फरार भएका छन्। चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा अपराध अनुसन्धान तथा घटनास्थल अनुसन्धान टोलीसहितको टोली परिचालन गरिएको छ । प्रहरीले ट्र्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया