पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, पाँचथर र ताप्लेजुङबीच विपद तथा अपराध नियन्त्रण र नियूनिकरणका लागि अन्तरजिल्ला प्रहरी समन्वय बैठक सम्पन्न भएको छ ।
मंगलबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा पछिल्लो समय देखिएको मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न प्रभावका विषयमा छलफल भएको थियो ।
बैठकमा अन्तरजिल्ला अपराध नियन्त्रण, सूचना आदान–प्रदान, अपराध अनुसन्धानमा सहकार्य, फरार प्रतिवादीको खोजतलास तथा पक्राउ, शान्ति सुरक्षा व्यवस्थापन एवं प्रहरी कार्यसम्पादनसँग सम्बन्धित समसामयिक विषयमा समेत विस्तृत अन्तरक्रिया गरिएको हो ।
तीनवटै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकहरूको सहभागिता रहेको बैठकमा अन्तरजिल्ला समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आपसी सहयोग, सहकार्य र सूचनाको प्रभावकारी आदान–प्रदानलाई निरन्तरता दिने विषयमा जोड दिएको जिल्ला प्रहरी कार्यालय,पाँचथरका डिएसपी अनिस कर्णले जानकारी दिए ।





