विराटनगर, भदौ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम तथा अनुगमन कार्यहरूमा उल्लेख्य प्रगति हासिल गरेको छ। खाद्य सुरक्षा आपतकालीन प्रतिक्रिया, बजार अनुगमन र सचेतनामूलक कार्यक्रमहरूमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरिएको हालैको प्रगति विवरणमा उल्लेख छ।
कार्यालयका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर अभियान कार्यक्रमलाई १२ पटक सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। तर, अहिलेसम्म यो कार्यक्रम १५४ पटक सञ्चालन भएको छ। त्यस्तै, खाद्य बजार अनुगमन ४०० पटकको लक्ष्यमा २३० पटक मात्र भए पनि, दाना बजार अनुगमन भने ४ पटकको लक्ष्य पार गर्दै २९ पटक सम्पन्न भएको छ।
यसैगरी, होटल/रेस्टुरेन्ट अनुगमन ४ पटक, खाद्य उद्योग अनुगमन २ पटक र दाना उद्योग अनुगमन ५० पटक लक्ष्य राखिएको थियो। तर, दाना उद्योगतर्फ १४२ पटक अनुगमन भई लक्ष्यभन्दा धेरै प्रगति भएको प्रतिवेदनमा जनाइएको छ।
सचेतनामूलक अभियान अन्तर्गत स्ट्रिटफुड स्वच्छता, खाद्य पदार्थमा रंगको प्रयोग र प्रत्यक्ष सम्पर्कमा आउने कागजको प्रयोगसम्बन्धी जनचेतना कार्यक्रम १० पटक सञ्चालन गर्ने योजना थियो, जुन १० पटककै दरमा सम्पन्न गरिएको छ।
संवेदनशील खाद्य पदार्थ (दूध, तेल, पानीलगायत) उत्पादन गर्ने उद्योगहरूको अनुगमनमा पनि उल्लेख्य प्रगति देखिएको छ। ४८ पटकको लक्ष्य रहेकामा हालसम्म ७८ पटक अनुगमन गरिएको छ।
कार्यालयले उपभोक्ताबाट प्राप्त १५५ वटा उजुरी तथा गुनासो सम्बोधन गरेको छ भने १० वटा मुद्दा दायर गरी कानुनी कारबाही अघि बढाएको छ। साथै, फलफूल तथा तरकारी बजारमा विषादी अवशेष परीक्षण (RBPR) र फलफुल बजार/गोदाममा प्रयोग हुने राइपनिङ एजेण्टको नियमन निरन्तर गरिँदै आएको छ।
कार्यालयका अनुसार, यी अनुगमन तथा नियमन कार्यले उपभोक्ताको स्वास्थ्य संरक्षणमा सकारात्मक प्रभाव पारेको छ। स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता कार्यालयले जनाएको छ।