काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना आएपछि त्रसित बनेका नदी तटीय क्षेत्रका नागरिकका लागि राहतको खबर आएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।
महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय, रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको हो ।
भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनका क्रममा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि बाढीको अवस्था भने ठूलो नरहेको महाशाखाले जनाएको छ ।
सोही अवस्थालाई आधार मान्दै महाशाखाले हाल रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको हो ।
यसअघि नदीमा असामान्य आवाज आएको तथा बहाव बढेको सूचना प्राप्त भएपछि सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको थियो । पछिल्लो अवस्थाअनुसार तत्काल ठूलो बाढीको जोखिम नरहे पनि नदी तटीय क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।





